Kirtipur,Kathmandu, Nepal
त्रिवि अतिरिक्त क्रियाकलाप शैक्षिक अंकभार तयारी समितिको पहिलो बैठक सम्पन्न
काठमाडौँ, २०८३ जेष्ठ ४ गते – त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, कीर्तिपुरमा आज निर्देशनालयका निर्देशक तथा समितिका संयोजक डा. दीपेन्द्र पराजुलीको अध्यक्षतामा अतिरिक्त क्रियाकलाप शैक्षिक अंकभार तयारी समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा समितिका सबै ११ सदस्यको उपस्थिति रहेको थियो ।
बैठकको सुरुवातमा संयोजक डा. पराजुलीले सबै सदस्यलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभयो । त्यसपछि समिति गठनसम्बन्धी पृष्ठभूमि अध्ययन प्रस्तुत गरियो । उक्त अध्ययनले विश्वविद्यालयको शिक्षालाई केवल कक्षाकोठामा सीमित नराखी विद्यार्थीको समग्र व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, योग, ध्यान, खेलकुद तथा सांस्कृतिक क्रियाकलापलाई शैक्षिक प्रणालीसँग आबद्ध गर्नुपर्ने आवश्यकता औंल्याएको थियो । यसै सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा प्रचलित शैक्षिक अंकभार प्रणालीको अध्ययन गरी त्रिभुवन विश्वविद्यालयका लागि एकीकृत ढाँचा तयार गर्ने सहमति भयो । समितिका सदस्यहरूको विज्ञता तथा कार्यादेश अनुसार अवधारणा पत्र तयार गर्न जिम्मेवारी बाँडफाँड समेत गरियो ।
त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् स्थायी समितिले यहि २०८३ बैशाख ३ गते आफ्नो बैठकमा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा प्रस्तावित यस समिति गठनलाई औपचारिक रूपमा स्वीकृति प्रदान गरेको थियो । यस निर्णयले विश्वविद्यालयभित्र सञ्चालित विभिन्न सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूलाई शैक्षिक शैक्षिक अंकभार प्रणालीमा आबद्ध गर्ने आधार तयार गरेको थियो । समितिले ४ महिनाभित्र विद्या परिषदमा अन्तिम प्रतिवेदन बुझाउनेछ । यससँगै विद्यार्थीहरूले राष्ट्रिय सेवा, खेलकुद, योग ध्यान, कला, संस्कृति, विज्ञान, प्रविधि र उद्यमशीलता जस्ता अतिरिक्त क्रियाकलापबाट शैक्षिक अंकभार प्राप्त गर्न सक्ने बाटो खुलेको छ ।
नेपालमा ऐतिहासिक पहिलो र विश्वमै विशिष्ट ढाँचा
यस्तै प्रकारको अंकभार प्रणाली डब्लिन सिटी युनिभर्सिटी (सन् २००४), अन्ना युनिभर्सिटी (सन् २०१८) लगायतमा रहे पनि, त्रिविको मोडेल विश्वमै विशिष्ट छ । यसका विशेषताहरूः
व्यापक क्षेत्र – धेरै विश्वविद्यालयले एउटै क्षेत्र (जस्तै केवल खेलकुद वा सेवा) मा मात्र क्रेडिट दिन्छन् । त्रिविले सामाजिक सेवा (NCC/NSS), खेलकुद, कला/संस्कृति, योग/ध्यान, तथा विज्ञान/प्रविधि/उद्यमशीलता (SITE) गरी पाँच फराकिलो क्षेत्र समेटेको छ ।
केन्द्रीय डिजिटल प्रमाणीकरण – त्रिविले विद्यार्थीको सहभागिता अभिलेख राख्न, अनुगमन गर्न र प्रमाणित गर्न एकीकृत डिजिटल प्रणाली विकास गरिरहेको छ, जसले पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्छ ।
लचिलो एवं समावेशी – समितिले विद्यार्थीहरूले भविष्यमा मात्र नभई हाल नै गरिरहेका क्रियाकलापबाट समेत क्रेडिट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ, जसले प्रणालीलाई तत्काल प्रभावकारी बनाउँछ ।
शैक्षिक लब्धांकपत्रमा पूर्ण एकीकरण – प्राप्त अंकभार अन्य विषयगत अंकभारसरह नै आधिकारिक शैक्षिक लब्धांकपत्रमा देखिनेछ, जुन छुट्टै प्रमाणपत्र मात्र दिने अन्तर्राष्ट्रिय अभ्यासभन्दा फरक र अझ प्रभावकारी छ ।
यसरी, त्रिभुवन विश्वविद्यालय विश्वभरिका अग्रणी संस्थासँगै काँधमा काँध मिलाउँदै, दक्षिण एसियाका लागि अनुकरणीय र विश्वमै आफ्नै विशिष्ट पहिचान बनाउन सफल भएको छ ।