Kirtipur,Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु आर.आर. क्याम्पसद्वारा आयोजित बृहत् खेलकुद तथा रचनात्मक सप्ताहको समापन समारोह विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक उप–प्रा. डा. दीपेन्द्र पराजुलीको विशेष उपस्थितिमा भव्य तथा सफल रूपमा सम्पन्न भएको छ।
समापन समारोहमा विशेष अतिथि का रूपमा सहभागी डा. पराजुलीले सरस्वती माताको विधिपूर्वक पूजाआजा गरी नव–आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्नुभयो। उहाँले निर्देशनालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीको समग्र हितलाई केन्द्रमा राखी दीर्घकालीन र नीतिगत पहलहरू अघि बढाइरहेको स्पष्ट पार्नुभयो।
डा. पराजुलीले त्रिभुवन विश्वविद्यालयमा योग्य, मेहनती र वास्तविक विद्यार्थीहरूको प्रवेश सुनिश्चित गर्ने दिशामा संस्थागत प्रयास भइरहेको उल्लेख गर्दै, त्यस्ता विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासका लागि शिक्षकहरू पनि समयानुकूल अद्यावधिक, सक्रिय र उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले गुणस्तरीय विद्यार्थीका साथै उच्च प्रभाव पार्ने शिक्षक र अनुसन्धानकर्ताहरू नै विश्वविद्यालयको वास्तविक शक्ति हुने बताउनुभयो।
उहाँले त्रिभुवन विश्वविद्यालयमा कार्यरत धेरै प्राध्यापक तथा अनुसन्धानकर्ताहरू Elsevier र Stanford University द्वारा प्रकाशित विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा नेपालबाट सूचीकृत हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो। यसले त्रिभुवन विश्वविद्यालयको शिक्षण तथा अनुसन्धान क्षमताको अन्तर्राष्ट्रिय स्तरमा मान्यता स्थापित भएको उहाँको भनाइ थियो।
डा. पराजुलीले थप रूपमा त्रिभुवन विश्वविद्यालय विश्वमै सबैभन्दा बढी विद्यार्थी संख्या र अचल सम्पत्ति भएको विश्वविद्यालयहरूमध्ये अग्रस्थानमा रहेको उल्लेख गर्दै, यस्तो ठूलो संस्थालाई प्रभावकारी, उत्तरदायी र गुणस्तरीय रूपमा सञ्चालन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
उहाँले निर्देशनालयले NSS, NCC, VCC, ECA, SITE लगायतका कार्यक्रमहरूमा विद्यार्थीको सक्रिय सहभागिता, नियमित अनुगमन तथा मूल्याङ्कनको आधारमा पाठ्यक्रममा क्रेडिट प्रदान गर्ने नीति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो। साथै, आ–आफ्नो तहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई देशमै रोकी सेवा गर्ने उद्देश्यसहित RA तथा TA जस्ता सुविधा सहित विशेष सहयोग कार्यक्रम सुरु गर्ने योजना रहेको पनि बताउनुभयो।
यसैक्रममा डा. पराजुलीले निर्देशनालयले हालै त्रिभुवन विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि योगदानमा आधारित कोष (Contributory Fund) मार्फत समग्र स्वास्थ्य उपचार (Comprehensive Health Treatment) सुविधा प्रदान गर्ने पहल प्रारम्भ गरिसकेको जानकारी गराउनुभयो। उक्त पहलले विश्वविद्यालय परिवारको स्वास्थ्य सुरक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको उहाँको भनाइ थियो।
डा. पराजुलीले निर्देशनालयले हालै त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा Google Form मार्फत प्रतिक्रिया संकलन प्रक्रिया सुरु गरेको र आगामी नीतिहरू क्याम्पसहरूबाट प्राप्त सुझाव तथा आवश्यकता अनुरूप तय गरिने पनि स्पष्ट पार्नुभयो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग के.सी. प्रमुख अतिथि का रूपमा सहभागी हुने कार्यक्रम रहेको भए तापनि विशेष कारणवश उहाँको उपस्थिति हुन सकेन। स्ववियु आर.आर. क्याम्पसका अध्यक्ष लोकेश कुमार खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त समारोहसँगै अधिकांश क्याम्पसहरूमा सञ्चालन भएको खेलकुद सप्ताह सम्पन्न भई त्रिभुवन विश्वविद्यालय उपकुलपति कप २०८२ का लागि टिम छनोट प्रक्रिया पनि लगभग सम्पन्न भएको जानकारी दिइयो। उपकुलपति कप २०८२ माघ १४ गतेदेखि काठमाडौंमा सुरु हुने छ। सो प्रतियोगिताबाट छनोट भएका टिमहरूले माघ २२–२३ गते काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्नेछन्।
समापन समारोहलाई सफल बनाउन सहयोग पुर्याउनु हुने विद्यार्थी, प्राध्यापक, कर्मचारी, आयोजक टोली, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। यस्ता रचनात्मक, शैक्षिक तथा खेलकुद–केन्द्रित कार्यक्रमहरूले क्याम्पसको समग्र शैक्षिक, सांस्कृतिक तथा सृजनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।