Kirtipur,Kathmandu, Nepal
कीर्तिपुर, काठमाडौं । माघ १४, २०८२
त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिएको उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ आज त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा भव्य रूपमा उद्घाटन गरिएको छ । माघ १४ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजना गरिएको हो ।
उद्घाटन समारोहको अध्यक्षता विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीले गर्नुभएको थियो । समारोहको औपचारिक उद्घाटन त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईले ओलम्पिक ज्योतिको प्रतीकस्वरूप दियो प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमको सुरुवात सहभागी टोलीहरूको मार्चपास, राष्ट्रिय गान तथा खेलाडीहरूको शपथ ग्रहणबाट गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक डा. पराजुलीले सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक, अतिथि तथा सम्बन्धित सबै पक्षलाई स्वागत गर्दै प्रतियोगिताका उद्देश्य, खेलका प्रकार र सञ्चालन स्थलहरूबारे जानकारी गराउनुभयो । उहाँले निर्देशनालयले राष्ट्रिय सेवा दल, राष्ट्रिय सेवा योजना, विज्ञान प्रविधि नवप्रवर्तन उद्यमशिलता प्रवद्धन, र ललितकला तथा सृजनात्मक क्रियाकलापसम्बन्धी अतिरिक्त क्रियाकलापका कार्यक्रमहरूलाई विद्यार्थीहरूको शैक्षिक उपाधिमा अंक थप हुने गरी क्रेडिट–आधारित अवधारणा विकास गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले हालै सञ्चालनमा ल्याइएको विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको योगदानमा आधारित बृहद् स्वास्थ्य उपचार कार्यक्रम बारे पनि जानकारी गराउनुभयो । साथै, त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा कार्यरत शिक्षक–अनुसन्धानकर्तामध्ये उल्लेख्य संख्या एल्सिभिएर र स्ट्यान्फोर्ड विश्वविद्यालयद्वारा सूचीकृत विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश रहेको तथ्य प्रस्तुत गर्दै विश्वविद्यालयको शैक्षिक क्षमता र अनुसन्धान प्रभावलाई उजागर गर्नुभयो ।
निर्देशक डा. पराजुलीका अनुसार यस प्रतियोगितामा विश्वविद्यालयका ३८ वटा आंगिक क्याम्पसबाट १,३४० जना विद्यार्थी खेलाडीहरू सहभागी भएका छन् भने २८० भन्दा बढी प्रशिक्षक, टोली व्यवस्थापक, निर्णायक तथा प्राविधिक जनशक्ति प्रतियोगितामा संलग्नताले यस प्रतियोगितालाई ऐतिहासिक बनाएको छ ।
उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम (गायन तथा नृत्य) प्रस्तुत गरिनुका साथै खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. घनश्याम भट्टराईले यस स्तरको प्रतियोगिता आयोजना गर्न निर्देशनालयले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटनपछि आज अपराह्न ३ः०० बजेपछि खेल प्रतियोगिताहरू सुरु भएका छन् । प्रतियोगितामा निम्न पाँच खेल समावेश गरिएका छन्ः
१. भलिबल – जावलाखेल भलिबल प्रशिक्षण केन्द्र
२ बास्केटबल (यस वर्ष थप गरिएको खेल) – दशरथ रंगशाला
३. एथलेटिक्स – दशरथ रंगशाला
४. ब्याडमिन्टन – भूकम्प स्मृति डल्लु आवास बहुउद्देश्यीय कभर्ड हल
५. टेबल टेनिस – लैनचौर कभर्ड हल
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू माघ २२–२३, २०८२ मा राष्ट्रिय खेलकुद परिषद्द्वारा काठमाडौंमा आयोजना हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ मा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरू फिसुलगायत अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद प्रतियोगिताहरूमा सहभागिताका लागि योग्य हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयको इतिहासमा पहिलोपटक विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पहलमा विश्वविद्यालय परिसरमै यस स्तरको खेलकुद प्रतियोगिता उद्घाटन गरिएको हो, जसले विश्वविद्यालयको खेलकुद, स्वास्थ्य तथा समग्र विद्यार्थी विकासप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर