STUDENT WELFARE AND SPORTS DIRECTORATE

Tribhuvan University

Kirtipur,Kathmandu, Nepal

Highlights

त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ भब्य रुपमा सम्पन्न, रत्न राज्य क्याम्पस प्रथम

त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ भब्य रुपमा सम्पन्न, रत्न राज्य क्याम्पस प्रथम

2026-02-03

त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ भब्य रुपमा सम्पन्न, रत्न राज्य क्याम्पस प्रथम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजित त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ । २०८२ माघ १४ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन भएको उक्त प्रतियोगिताको समापन समारोह निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भयो ।

समापन समारोहका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, नेपाल कराते महासंघका महासचिव तथा नेपाल कराते संघका अध्यक्ष श्री दावा गुरुङ रहनुभएको थियो । उहाँले विजेता खेलाडी तथा टिमहरूलाई पदक, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रत्न राज्य क्याम्पसले ९ स्वर्ण र ५ रजत पदक प्राप्त गर्दै समग्रमा प्रथम स्थान हासिल गर्न सफल भएको छ भने महेन्द्ररत्न ताहाचल ५ स्वर्ण ४ रजत सहित दोश्रो भएको छ । विभिन्न क्याम्पसबीचको स्वस्थ प्रतिस्पर्धाले त्रिवि स्तरीय खेलकुदको स्तर र सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा त्रिविका ३८ वटा आङ्गिक क्याम्पसहरूको सहभागिता रहेको थियो । १०० भन्दा बढी स्वयंसेवक, ३८ व्यवस्थापक, १,३६८ जना खेलाडी विद्यार्थी खेलाडिहरू, १९० भन्दा बढि निर्णायक तथा प्राविधिक कर्मचारीहरू सहित कुल सहभागि संख्या १८५६ रहेको थियो । यस व्यापक सहभागिताका कारण त्रिवि उपकुलपति कप २०८२ विश्वविद्यालयस्तरीय खेलकुद इतिहासमा एक ऐतिहासिक र भव्य प्रतियोगिताका रूपमा स्थापित भएको छ । प्रतियोगितामा पाँच खेल विधा समावेश थिए जस मध्ये भलिबल (पुरुष/महिला) जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, बास्केटबल (पुरुष/महिला, नयाँ विधा) दशरथ रंगशाला तथा मर्लियोन जिम्नेजियम, लाजिम्पाट, एथलेटिक्स (पुरुष/महिला) दशरथ रंगशाला, ब्याडमिन्टन (सिङ्गल/डबल) भूकम्प स्मृति डल्लु आवास बहुउद्देश्यीय कभर्ड हल र टेबल टेनिस (सिङ्गल/डबल) लैनचौर कभर्ड हलमा सम्पन्न भएको थियो ।

डा. पराजुलीले मन्तव्यमा प्रतियोगिताले क्याम्पसस्तरमै खेलाडी पहिचान, नेतृत्व विकास र खेल अनुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजना हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ (माघ २२–२३, काठमाडौं विश्वविद्यालय) मा त्रिविको प्रतिनिधित्व गर्नेछन् । त्यसै गरि ती खेलाडीहरु अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन योग्य हुनेछन् ।

समापन समारोहले त्रिवि उपकुलपति कपलाई केवल प्रतियोगिता मात्र नभई विश्वविद्यालयस्तरीय खेलकुद आन्दोलनको सशक्त आधारका रूपमा स्थापित गरेको आयोजकको निष्कर्ष रहेको छ ।