Kirtipur,Kathmandu, Nepal
बिराटनगर, २०८२ पुष १९ः आफ्ना शिक्षक, विद्यार्थी र कर्मचारीहरुको स्वास्थ्य सेवा सहजीकरणकालागि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र प्रदेशभरिका विभिन्न अस्पतालहरूसँग प्रदेश स्वास्थ्य मन्त्री माननीय भूपेन्द्र राईको उपस्थितिमा सम्झौता पत्रहरूमा हस्ताक्षर गरेको छ ।
यसले त्रिविका शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यसको योगदानमा आधारित कल्याणकारी कोष योजनाअन्तर्गत स्वास्थ्य उपचार सेवा सहज पु¥याउने उद्देश्य राख्दछ । प्रदेशस्तरमा यस्तो ठूलो स्तरको पहिलो सहकार्य मानिएको यस कार्यक्रममा त्रिविका १२ वटा आंगिक क्याम्पस र प्रदेशका साना ठूला गरि ७ वटा अस्पतालहरू समेटिएका छन् । यस अघि त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वास्थ्य शिक्षा र सेवा प्रवाहलाई बलियो बनाउने साझा लक्ष्य राखी, एकमुष्ट सम्झौता पत्र हस्ताक्षरको प्रक्रिया सुरु गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो जसमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालहरू “प्रथम पक्ष“ र त्रिभुवन विश्वविद्यालय र यसका आंगिक अस्पतालहरू “दोस्रो पक्ष“ छन् ।
मुख्य समारोहमा त्रिभुवन विश्वविद्यालय र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबीचको सम्झौता पत्रमा हस्ताक्षर भयो । यसका लागि त्रिवितर्फका रजिष्ट्रार प्रा. डा. केदार रिजाल र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले हस्ताक्षर गरे भने प्रदेश स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे र उपसचिव निर्मल भट्टराईले मन्त्रालयको प्रतिनिधित्व गरे । त्यसलगत्तै, त्रिविका आंगीक क्याम्पसहरूले प्रदेश र स्थानीय सरकार मातहतका आ–आफ्ना नजिकैका अस्पतालहरूसँग प्रत्यक्ष रूपमा छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे । साथै, कोशी अस्पताल, मोरङ्ग र बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरान जस्ता प्रमुख स्वास्थ्य संस्थाहरूसँग पनि छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भए । महेन्द्र बहुमुखी क्याम्पस, धरान BPKIHSसँग र धनकुटा बहुमुखी क्याम्पस, धनकुटा जिल्ला अस्पतालसँग यस अघि नै सम्झौता भईसकेको छ ।
कार्यक्रममा उपस्थित प्रदेश स्वास्थ्य मन्त्री माननीय भूपेन्द्र राईले यो साझेदारीलाई प्रदेशको स्वास्थ्य क्षेत्रमा मिलेको ठूलो उपलब्धि बताउँदै विश्वविद्यालय र स्वास्थ्य संस्थाहरूबीच यस्तो सहकार्य अझ विस्तार हुनुपर्ने बताए । त्रिविका रजिष्ट्रार प्रा. डा. केदार रिजालले भने, “मन्त्री ज्यूको उपस्थितिले यस कार्यक्रमलाई ठूलो बल मिलेको छ । यो हाम्रा शैक्षिक समुदायको कल्याण सुनिश्चित गर्न र प्रदेशमा शैक्षिक र स्वास्थ्य सेवा संस्थाहरूबीच सहकार्य बलियो बनाउने ठोस कदम हो ।” प्रदेश स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले पनि मन्त्रीको नेतृत्वमा यस्ता नवीन पहलहरू अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । त्यस्तै डा. पराजुलीले त्यस विस्तृत सम्झौताको महत्वका बारे प्रकाश पारेका थिए ।
सम्झौता पत्र हस्ताक्षर अघि, त्रिविको केन्द्रीय टोलीले बाग्मती, मधेश र कोशी प्रदेशका आंगिक क्याम्पसहरूमा भएका परीक्षाहरूको अनुगमन गरेको थियो । सम्झौता पश्चात् रजिष्ट्रार, प्रा. डा. केदार रिजालले इ. अ. सं पूर्वाञ्चल क्याम्पस, धरानले सोही क्याम्पसमा आयोजना गरेको १७औं इ. अ. सं स्नातकोत्तर सम्मेलनको उद्घाटन गरेका थिए भने निर्देशक, डा. दीपेन्द्र पराजुलीले दुई दिने त्यो सम्मेलनमा विशेष अतिथिको रूपमा सहभागीता जनाए ।